भ्रष्टाचार न्यूनीकरण नभएसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न सक्दैन्नः डा. भण्डारी

शुक्रबार, ८ मंसिर २०८०

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले भ्रष्टाचार देशका लागि ठूलो रोग भएको त्यसलाई जबसम्म न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताएका छन् ।

डा. भण्डारीले रेसुङ्गा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मुलुक नबनेसम्म भावी सन्ततिका भविष्य पनि नबन्ने भन्दै आफूहरू मुलुक बनाउने अभियानमा लागेको बताए । नेपाल संसारको सबैभन्दा राम्रो देश भएको भन्दै उनले मुलुक राम्रो बने देश अघि बढ्न सक्ने तर्क गरे । गुल्मीलाई नेपालको नमुना जिल्ला बनाउन आफूले कोरेको विकासको गोरेटालाई पूर्णता दिने काममा सधैँ लागिपर्ने उनले विश्वास दिलाए ।

शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सुरु हुन गइरहेको कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डा भण्डारी गुल्मी आएका हुन् । दुर्घटनापश्चात् पहिलो पटक पुनर्जीवन पाएर जिल्लामा आएका उनको आगमनले आम जिल्लावासीमा थप खुसी र उत्साह थपिएको कांग्रेसको जिल्ला पार्टी सभापति खिलध्वज पन्थीले बताए ।

दोस्रो जिल्ला सम्मेलनमा कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु शनिबार गुल्मी आउने कार्यक्रम रहेको पार्टी सभापति पन्थीले जानकारी दिए ।