क्यानडाका लागि राजदूतमा सिफारिस भएका पौड्यालमाथि सरकारी स्रोतको दुरूपयोग गरेको आरोप

आइतबार, १० मंसिर २०८०

काठमाडौं— क्यानडाका लागि राजदूतमा सिफारिस भएका परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालमाथि सरकारी स्रोतको दुरूपयोग गरेको आरोप लागेको छ।

सरकारले राजदूतमा सिफारिस गरेपछि संसदको सुनुवाइ समितिले पौड्यालमाथि उजुरी आह्वान गरेको थियो। उनीविरुद्ध परेको उजुरीमा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा छोरीलाई स्वीजरल्याण्ड पठाएको उल्लेख छ।

पौड्यालले प्रतिमहिना ६ लाख रूपैयाँ उपलब्ध हुने दुई वर्षको छात्रवृत्तिमा छोरीलाई पठाएको र छोरी सरकारी कर्मचारी नै नरहेको उजुरीमा उल्लेख छ। अहिले चलिरहेको पौड्यालमाथिको संसदीय सुनुवाइमा उनीमाथि परेको उजुरीबारे सांसदहरूले प्रश्न सोधिरहेका छन्।

उनलाई सरकारले गत कात्तिक ३ गते क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो। परराष्ट्र सचिव रहेका पौड्यालको कार्यकाल यही मंसिर २० गते सकिँदैछ।