राजावादीबाट व्यवस्थामाथि कुनै खतरा छैन: सञ्चारमन्त्री शर्मा
काठमाडौँ – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा नभएको बताएकी छिन् । यदि व्यवस्थामाथि खतरा नै उत्पन्न हुने स्थिति आए सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट भएर प्रतिकार गरिने उनले चेतावनी दिइन् ।
हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आउँदा त बल्लतल्ल गणतन्त्र आएको स्मरण गर्दै उनले दुई चार जना मानिस सडकमा आएर फरक नपर्ने बताइन् ।
‘हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आएका थिए । त्यतिहुँदा त बल्लतल्ल गणतन्त्र स्थापित भयो भने दुई चारजना मानिस सडकमा आउँदैमा केही फरक पर्दैन’, रातोपाटीसँग कुराकानी गर्दै उनले भनिन्, ‘राज्य सञ्चालनमा केही कमीकमजोरी भएपनि सुल्टो बाटोमा त्यसको असर पर्न सक्थ्यो वा जनता सडकमा आउने वातावरण बन्थ्यो होला । तर राजतन्त्र नभोगेका युवाहरूलाई सडक आन्दोलनले केही प्रभाव पार्ला तर शाही काल भोगेका मानिस कन्भिन्स हुने अवस्था छैन ।’ यस्तै गणतन्त्र र राजतन्त्रको भेदबारे विद्यालयको पाठ्यपुस्तकमा समेट्न नसक्दा पनि समस्या देखिएको उनको बुझाइ छ ।
यसैगरी सडकमा देखिएको पछिल्लो अवस्थाबारे सरकारले निकै गम्भीरतापूर्वक हेरेको उनले बताइन् ।