उग्र अभिव्यक्ति दिएको भन्दै धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

सोमबार, ११ मंसिर २०८०

काठमाडौं— दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा उपस्थित भएका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले उनलाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘भिडलाई उग्र बनाएपछि नियन्त्रणमा लिएका छौं ।’

प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।

उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए । श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए ।