शिक्षकले नपत्याएको ‘मेरो सपना’
काठमाडौं – एक बालक स्कुलबाट फर्किएपछि हरेक दिन आफ्ना पिताले काम गर्ने स्थानमा जान्थे । उनका पिता एक धनाढ्यको तबेलामा काम गर्थे । उनी निकै इमानदार र परिश्रमी थिए । बालकलाई लाग्ने गथ्र्यो, ‘बाबाले यति धेरै परिश्रम गरे पनि उहाँले कहिल्यै सम्मान पाउनुहुन्न । तर, यस तबेलाका मालिक दिनभरि केही काम गर्दैनन्, तैपनि उनको कति ठूलो सम्मान छ समाजमा !’
एक दिन बालकका शिक्षकले कक्षाका सबै छात्रछात्रालाई ‘मेरो सपना’ शीर्षकमा एउटा निबन्ध लेखेर ल्याउन गृहकार्य दिए । ती बालकले पनि रातभरि खुब मिहिनेत गरेर सोचविचार गरी, एउटा निबन्ध तयार गरे । त्यसमा उनले आफू ठूलो भएपछि निकै ठूलो तबेलाको मालिक बन्ने, त्यहाँ धेरै घोडा पालिने र तालिम दिइने उल्लेख गरे । साथै, उनले दुई सय एकडमा फैलिएको आफ्नो तबेलाको चित्र पनि बनाए ।
अर्को दिन सबैले शिक्षकलाई आआफ्नो निबन्ध देखाए । शिक्षकले सबैको लेखाइ परीक्षण गरी अंक पनि दिए । तर, ती बालकको निबन्धमा भने कत्ति पनि अंक दिएनन् । बालकले शिक्षकसामु गएर सोधे, ‘गुरु, मैले किन अंक पाइनँ ? के म त्यसको कारण थाहा पाउन सक्छु ?’ शिक्षकले भने, ‘साथीहरूले जस्तै सामान्य खालको निबन्ध लेखेको भए म पत्याउँथेँ र अंक पनि दिने थिएँ । तर, तिमीले त पूरा हुनै नसक्ने सपना देखेका छौ । त्यसैले अर्को सामान्य पूरा हुने सपनाबारे लेखेर ल्याऊ । म तिमीलाई पनि अंक दिनेछु ।’
घर फर्किएपछि बालकले धेरै सोचे, तर उनले अघिल्लो दिनको बाहेक अर्को सपना देखेनन् । भोलिपल्ट शिक्षककहाँ गएर उनले भने, ‘ठिकै छ गुरु, मलाई अंक दिनुहुन्न भने नदिनुहोस् । तर, मलाई अरू केही बन्नु छैन । म मेरो सपना बदल्न सक्दिनँ । साँच्चै ती बालकले त्यसपछिका २० वर्षभित्रै आफ्नो सपनालाई पुरा गरेर देखाए । शिक्षक उनको सफलता देखेर चकित परे ।