मुलुकभरका सरकारी अस्पताल आज पनि ठप्प
काठमाडौं। देशभरका सरकारी अस्पतालको सेवा सोमबार पनि प्रभावित भएको छ । सरकारी चिकित्सकको आन्दोलनका कारण मुलुकभरका सरकारी अस्पतालको सेवा प्रभावित हुदाँ बिरामीहरु मर्कामा परेका छन् ।
चिकित्सकहरुको अनिश्चितकालिन आन्दोलनका कारण बिरामीहरुले सोमबार पनि दुःख पाउने भएका छन् । संघीय सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सक संघ (गोदान) ले गरेको आह्वानअनुसार चिकित्सकहरुले सेवा बहिस्कार गर्दै आएका छन् ।
सरकारी चिकित्सकको आन्दोलनका कारण ७७ जिल्लाका जिल्ला अस्पताल, १० अञ्चल अस्पताल, ४ वटा क्षेत्रीय र उपक्षेत्रीय तथा ५ वटा केन्द्रीय अस्पतालको सेवा प्रभावित बनेको छ । देशभर झन्डै १ हजार ४ सय सरकारी चिकित्सक छन् ।
माग सम्बोधनका लागि सरकारले पहल नगरेको भन्दै चिकित्सकले आन्दोलनका थप कार्यक्रम ल्याउने चेतावनी दिँदै आएका छन् । सरकारी चिकित्सकले आफूहरुका माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका छन् ।
सरकारी चिकित्सकहरुले गत शुक्रबारदेखि सेवा बहिस्कार गरी अनिश्चितकालिन आन्दोलन थालेका थिए ।