गणतन्त्रविरुद्ध प्रहार भए विद्रोह गर्ने रामसरोज यादवको चेतावनी

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं— नेपाली कांग्रेसका मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रहार भयो भने विद्रोह गर्ने चेतावनी दिएका छन् ।

प्रदेशसभा बैठकमा बोल्दै सांसद यादवले यस्तो बताएका हुन्। उनले व्यवस्थाविरुद्ध आन्दोलनलाई ‘पृथकतावादी’को संज्ञा दिए । उनले भने, ‘अधिकार खोस्न खोजियो भने विद्रोह हुन्छ । सारा मधेशी विद्रोह गर्यो भने देश अलग हुनसक्छ ।’

‘तथाकथित बुद्धिजीवीहरु भन्छन् संघीयताले देश कंगाल हुने भयो’, सांसद यादवले भने, ‘स्वघोषित विद्धानहरु भन्दैछन् संघीयता हटाउनुपर्छ । यस्ता आवाजहरु ‘पृथकतावाद आवाज’ हो ।’

संघीय लोकतान्त्रिक गणतन्त्र संसारकै सबभन्दा सुन्दर प्रणाली रहेको भन्दै यो व्यवस्थाविरुद्ध षड्यन्त्र भए मधेशका २३ जिल्लाले विद्रोह गर्नुपर्ने बताए । ‘संघीयता सानो देशले थेग्न सक्दैन भन्छन् तर त्यति सानो देश स्विट्जरलैन्डमा कति राम्रो चलेको छ’, उनको भनाई छ ।

सांसद यादवले सुन्दर प्रणालीलाई कसैले खोस्न चाहन्छ भने त्यसविरुद्ध सबै एकजुट भएर विद्रोह गर्नुपर्नेमा जोड दिए ।