ओलीले सिंहदरबार पुगेरै भेटे प्रधानमन्त्री प्रचण्ड

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबार पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

उनले भने, ‘प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भेटवार्ता भएपछि राजनीतिक घटनाक्रमबारे कुरा हुने भइहाल्यो । तर, कुनै ठोस एजेण्डा केन्द्रित भएको होइन ।’

प्रधानमन्त्री प्रचण्डले भोलि आफू कोप–२८ सम्मेलनमा जान लागेको जानकारी गराउँदै सुझाव मागेको बताए । ओलीले प्रधानमन्त्रीलाई सुझाव दिँदै आफू पनि मध्यपहाडी लोकमार्गको पदयात्रा निस्कन लागेको जानकारी गराएको बताए ।

दुई नेताहरुबीचको भेटमा गणतन्त्रविरोधी पछिल्ला आन्दोलन, संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगोलगायतको विषयमा पनि छलफल भएको बताइन्छ ।