विपिन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री साउद कतार जाँदै

बुधबार, १३ मंसिर २०८०

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउद हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको रिहाइको पहलका लागि मङ्सिर २३ मा कतार जाँदै छन् ।

परराष्ट्र मन्त्री साउदले यहि मङ्सिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

परराष्ट्र मन्त्री साउदले आज (बुधवार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।