केहि शर्तसहित भूकम्प पीडितलाई दुई किस्ता गरेर ५० हजार रुपैयाँ दिइनेः गृहमन्त्री

बिहिबार, १४ मंसिर २०८०

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन केहि शर्तसहित दुई किस्तामा ५० हजार रुपैयाँ दिइने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले एकमुस्ट दिन माग भए पनि त्यो सम्भव नभएकाले दुई किस्तामा दिइने, तर एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर गरे ।

उनका अनुसार पहिलो किस्ता बिना बैंक खाता नगदै पनि प्राप्त गर्न सक्छन् । दोस्रो किस्ता प्राप्त गर्न भने दुई वटा शर्त छन् ।

पहिलोः कहाँ घर बनाउने हो त्यसको तयारी कुनै न कुनै रुपमा अगाडि बढेको देखाउनुपर्ने ।
दोस्रोः बैंक खाता हुनुपर्ने ।

‘पहिलो किस्ता सहजै पाउँछन् । दोस्रो किस्ता पाउन यसो खोस्रिएर भएपनि यो ठाउँमा आवास बनाउन लागेको भन्ने कम्तीमा होस् । त्यतिञ्जेल बैंक खाता छैन भने खोलोस्’, गृहमन्त्री श्रेष्ठले भने, ‘पहिलो दिन पहिलो किस्ता लिनेले भोलिपल्टै पनि दोस्रो किस्ता पाउन सक्ने अवस्था छ ।’

सत्ता साझेदार नेपाली कांग्रेसले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन सरकारसाग माग गरेको छ ।

सरकारी रकम पीडितको खातामा नै जाओस् भन्ने सरकारको उद्देश्य रहेको तर कतिपयको बैंक खाता नभएकाले सहजीकरणका लागि दोस्रो किस्ता लिन मात्रै बैंक खाता अनिवार्य गरिएको गृहमन्त्री श्रेष्ठले जानकारी दिए ।

गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले रकम दुरुपयोग नहोस् र भविष्यमा प्रश्न नउठोस् भनेर दुई किस्तामा अनुदान दिन लागिएको बताए ।

पीडितको खातामा पैसा जाँदा त्यसको रेकर्ड राख्न सहज हुने र दोस्रो किस्ता पाउन केही न केही काम अगाडि बढाएको हुनुपर्ने प्रावधानले सरकारी रकम दुरुपयोग नहुने उनको भनाइ छ । सचिव भट्टराईका अनुसार अस्थायी आवास बनाउने थोरै काम सुरु गर्नासाथ दोस्रो किस्ता पाउन सकिन्छ ।