दलहरुसँग राजनीतिक एजेण्डाको खडेरी हुँदा प्रतिगामी शक्ति सलबलाए: घनश्याम भुसाल

बिहिबार, १४ मंसिर २०८०

काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलहरुसँग राजनीतिक एजेण्डाको खडेरी हुँदा प्रतिगामी शक्ति सलबलाएको बताएका छन् । उनले लोकतन्त्रमा राजनीतिक दलहरु एजेन्डामा हिँड्नुपर्नेमा त्यसो नहुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने अवस्था आएको बताएका हुन् ।

गृह जिल्ला रुपन्देही आएका महासचिव भुसालले बुधबार बुटवलका पार्टीका अगुवा नेता कार्यकर्तासँगको भेटघाटमा राजनैतिक संकट गहिरिँदै गएको सुनाए । नेता भुसालले संविधान निर्माण भएपछि २०७४ को निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय पूँजीको विकास, कृषि उत्पादनको प्रवद्र्धन गर्ने गरी कार्यक्रम ल्याउन नसक्नु र संसद विघटन गर्नुले मुलुकमा राजनैतिक रुपमा संकट गहिरिन थालेको टिप्पणी गरे ।

‘नेकपा बन्दा जनताको पक्षमा काम गर्नुपर्ने थियो, त्यतिखेर नेतृत्वले गरेन, बरु संसद विघटन गरेर जनताको मुद्दा छोड्ने र राजनीति विग्राने काम भयो’, महासचिव भुसालले भने, ‘जसको परिणाम आज न विचार, न सिद्धान्त न कुनै उद्देश्य रहेका विचारविहीनहरुले हल्ला मच्चाइरहेका छन् ।’

व्यवसायी दुर्गा प्रसाईँजस्ता व्यक्तिले हल्ला मच्चाउने अवस्था सृजना हुनुमा राजनैतिक दलहरुमा एजेन्डा नहनु मुख्य कारण रहेको उनको भनाइ छ ।