एचआईभी उन्मूलनका लागि समुदायसँग हातेमालो गर्न मन्त्रालय तयार छः स्वास्थ्यमन्त्री
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआईभी उन्मूलनका लागि समुदायसँग हातेमालो गर्न मन्त्रालय तयार रहेको बताएका छन् ।
छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआईभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु, एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताए ।
मन्त्री बस्नेतले सन् २०३० सम्म नेपालबाट एचआईभी उन्मूलन गर्ने लक्ष्य चुनौतीपूर्ण भएको उल्लेख गर्दै एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय प्रगति गरेको बताए ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छाले एचआईभी सङ्क्रमण दर घटाउन नेपालले सफलता हासिल गरे पनि अन्त्य गर्न अझै चुनौती रहेको बताए । उनले एचआईभी सङ्क्रमितप्रति गरिने व्यवहार परिवर्तनका लागि सबै पक्षसँग सहकार्य हुनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले एचआईभी पनि अन्य रोगजस्तै औषधि सेवनले निको हुने भन्दै सङ्क्रमितमाथि हुने भेदभावको अन्त्य गर्न जनचेतना फैलाउन आवश्यक रहेको बताइन् ।
केन्द्रका निर्देशक डा सञ्जय ठाकुरले नेपालमा सन् २०२२ को अन्त्यसम्म करिब ३० हजार एचआइभी सङ्क्रमित रहेको जानकारी दिँदै अबको चुनौती सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेको बताए ।