वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले सुरू गरे आन्दोलन

आइतबार, १७ मंसिर २०८०

काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले गेटमै धर्ना दिएर अधिकारीलाई प्रवेश निषेध गरेका छन् ।

निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको उनीमाथि आरोप छ । केही दिन पहिलेमात्रै नेपाल उडड्यन प्राधिकरणले निगमले एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो ।

वर्षौंदेखि सञ्चालनमा नरेहको र व्यवस्थित गर्न नसकिएको ट्वीनअटर जहाज साथै पाँच थान चिनियाँ जहाज र त्यसका करोडौं मूल्यका पार्टपूर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन् । फेज आउट भइसकेको  9N-ACB कलसाइनको जहाजलाई Parking Insurance बापत निगमलाई आर्थिक व्ययभार बढाउँदै लगिएको पनि आन्दोलन कर्मचारीहरुले औंल्याएका छन् ।

कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्ती गर्नुपर्नाको ९ वटा कारण राखेर आफूहरूले आन्दोलन थालेको निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए ।