प्रधानमन्त्रीले स्विकारे सरकारको कमजोरी, जनतासँग माफी माग्न यत्रो डर ?
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग क्षमा माग्ने अवसर पनि गुमाएको बताएका छन् । नेपाल उद्योग परिसंघको १२ औं वार्षिक साधारणसभाको काठमाडौंमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले जनअपेक्षा अनुसार काम गर्न नसक्दा जनताको माझमा अनुहार देखाउन लाज लागेको बताए ।
जनताले काम गर्नका लागि सबै अनुकूलता सृजना गर्दिसकेकाले अब कुन मुखले माफी माग्न जाने भन्दै प्रश्न गरेका थिए । ‘बहुमत नुहँदा मुलुकमा अस्थिरता भयो भनियो, जनताले बहुमत दिए । राजनीतिक स्थायित्व पनि दिए । अब पनि केही गर्न नसके जनताका अघिल्तिर के मुख लिएर जाने ?’ प्रधानमन्त्रीकोे प्रश्न थियो । अरुलाई दोष दिएर पानी माथिको ओभानो हुन कोही पनि नसक्ने भन्दै ओलीले जनतासँग क्षमासम्म माग्ने अवसर पनि गुमाइसकिएको बताए ।
उनले जनता निराश बन्दै गएको स्वीकार्दै प्रधानमन्त्री ओलीले उनीहरुको मनोवल बढाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । विकासको लागि आ(आफ्नो ठाउँबाट नेतृत्व गर्न उनले राजनीतिज्ञ, प्रशासक, व्यवसायी, उद्योगीलगायतलाई आह्वान गरे ।
अहिले असन्तुष्टि व्यक्त गर्ने समय नभएको भन्दै सबैलाई आ(आफ्नो ठाउँबाट मुलुकको विकासमा समर्पित भई योगदान गर्न आग्रह गरे । मुलुकमा लगानीको वातावरण भएको जिकीर गर्दै प्रधानमन्त्री ओलीले ढुक्क भएर लगानी गर्न व्यवसायीहरुलाई अपील पनि गरे ।