एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको छः सभामुख
काठमाडौं— सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन् ।
बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको बताएका हुन्।
सभामुख घिमिरेले संसद्ले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए । उनले संसद् बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए । सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताए ।
अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्य तथ्य छानबिन गर्न आग्रह गरेको छ । खर्बौंको सम्पत्ति रहेको, नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौकौ ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूर सञ्चार प्राधिकरणलाई पूर्व जानकारी नगराई बिक्री गर्नुले पुँजीगत लाभ कर लगायत कर छली गर्ने उद्देश्य राखेको देखिएको अनेरास्ववियुको ठहर छ ।