राजसंस्था पुनःस्थापनासहित सात वटा एजेण्डा लिएर राप्रपा सडकमा उत्रिने

बिहिबार, २१ मंसिर २०८०

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनःस्थापनासहित सात वटा एजेण्डा लिएर सडकमा उत्रिने घोषणा गरेको छ ।

बिहिवार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलन सम्बन्धि मस्यौदा समितिको प्रस्तावलाई सामान्य परिमार्जनसहित पारित गरेको छ । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेजीलगायतका माग अघि सार्दै ‘नागरिक आन्दोलन’ मा उत्रिने घोषणा गरेको हो ।

पुस र माघ महिनामा आन्दोलनका लागि वार्मअप गर्ने र फागुनपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने मस्यौदा समितिले पेश गरेको प्रस्तावमा उल्लेख छ ।

केन्द्रीय कार्य सम्पादन समितिले पारित गरेको प्रस्ताव आगामी पुस १, २ र ३ मा काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिने छ । केन्द्रीय समितिले पारित गरेपछि राप्रपा दुई चरणको आन्दोलनमा व्यस्त हुनेछ ।

यसैबीच, राप्रपाले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रुपमा सबै तहमा मनाउने निर्णय पनि गरेको छ ।

यसका साथै राष्ट्रिय सभाको निर्वाचनमा पार्टी सहभागी हुने तथा यस सम्बन्धमा अन्य दलसँग संवाद गर्न वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट तयारी गर्न हेमजङ गुरुङलाई जिम्मा दिइएको छ ।