एनसेल प्रकरणको सत्यतथ्य छानबिन गर्न राप्रपाले गर्यो सरकारसँग माग
काठमाडौं— कमल थापा नेतृत्वको राप्रपा नेपालले एनसेल प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता वसन्तमान सिंह अधिकारीले एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका हुन् ।
एनसेल शेयर खरिद बिक्रीमा अर्बौं रुपैयाँ कर छली गर्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानूनविपरीत हुने गरी शेयर खरिद(बिक्री भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानूनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो, यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’