विमानस्थल सञ्चालनको माग गर्दै लुम्बिनीका गृहमन्त्री धर्नामा

आइतबार, २४ मंसिर २०८०

काठमाडौँ – पन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रूपमा सञ्चालन गर्दै ‘एयरपोर्ट’मा आइतवारदेखि निजी क्षेत्रले धर्ना शुरू गरेका छन् ।

पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि त्यसको कुनै सुनुवाइ नभएपछि रूपन्देहीको निजी क्षेत्र चरणबद्ध आन्दोलनमा उत्रेका हुन् । धर्नामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय पनि सहभागी छन् ।

सिद्धार्थ सञ्जाल, रूपन्देहीको संयोजनमा विमानस्थल चलाउन भएको आन्दोलनमा ३२ संघरसंस्था जोडिएका छन् । सञ्जालले गएको कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेको थियो ।

आन्दोलन कार्यक्रम अर्को निर्णय नहुञ्जेलसम्मका लागि निरन्तर रहने सञ्जालका प्रचार–प्रचार संयोजक मधु पन्थीले जानकारी दिए । उनका अनुसार, दैनिक दुई घण्टाका दरले धर्ना कार्यक्रम विमानस्थल परिसरमा सञ्चालन हुनेछ ।

जस अन्तर्गत शुक्रवार सञ्जालको आह्वानमा निजी क्षेत्रले भैरहवामा विरोध र्‍याली प्रदर्शन गरेको थियो ।

गृहमन्त्री पाण्डेयले सरकारको नेतृत्वमा बस्नेले विकास र समृद्धिका कुरा गरिरहँदा भैरहवामा भने निर्माण सम्पन्न भइसकेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिदिनुपर्‍यो भनेर धर्नामा बस्नुपर्ने अवस्था बिडम्बनापूर्ण भएको बताए ।