प्रहरीको बहादुरी : घरबाटै हराएको स्कुटर फेला, यी हुन चोर

बुधबार, २७ चैत्र २०७५

काठमाडौं – स्कुटर चोरी कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्नेहरु सिन्धुपाल्चोक डाँडापाखर गाउँपालिका ६ का सुरज थापा, रामेछाप थिरपानी गाँउपालिका १ का बिक्रम श्रेष्ठ, झापा भद्रपुर नगरपालिका ३ का विपिन गुरुङ, अर्घाखाँची सन्धिखर्क नगरपालिकाका विवेक खनाल र चितवन पुरानो पर्साका अभिषेक बराम रहेका छन् ।

चैत १९ गते राति नयाँ बानेश्वरका विकास श्रेष्ठको घरबाटै बा ७८ प १०१३ नम्बरको स्कुटर चोरी भएको घटनाको अनुसन्धानका लागि प्रहरीले बानेश्वर क्षेत्रमै बा ५० प ७६२ नम्बरको स्कुटर चढिरहेको अवस्थामा बिबेक र अभिषेकलाई नियन्त्रणमा लिएको थियो ।

सोधपुछको क्रममा उनीहरुले उक्त स्कुटर सुरज थापाको भनि बताएपछि खोजी गर्दै जाँदा हराएको स्कुटरसहित सुरजलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । सोधपुछ गर्दा बिक्रम र बिपिन समेतको संलग्नतामा उक्त स्कुटर चोरी गरी ल्याएको हो भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।

निजहरुको साथबाट हाल धनी नखुलेको बा ५४ प २६८ नम्बरको स्कुटर समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।