यी हुन् युट्युवबाटै अर्बौ कमाउने सात वर्षीय बालक
काठमाडौं । सात वर्षको बालकले कति पैसा कमाउँला ? अधिकांश यस उमेरका बालकले कमाउने होइन, खर्च गराउँछन् । तर अमेरिकाका एक बालकको कमाई वार्षिक ३ अर्ब रुपैयाँ भन्दा बढी छ ।
अमेरिकाका रेयान नामका यी बालक हरेक हप्ता युट्युबमा केटाकेटीले खेलाउने खेलौनाको समीक्षा गर्दछन् । उनको युट्युब भिडियो मार्फत दैनिक लाखौँ कमाई हुन्छ । रेयानले गत वर्ष मात्र १ करोड १० लाख डलर कमाए ।
यो वर्ष कमाई बढेर २ करोड २० लाख भएको छ । जुन झण्डै तीन अर्ब रुपैयाँ हो । रेयान टोएज रिभ्यू नामक युट्युब च्यानल चलाउँछन् । युट्युब मार्फत उनका भिडियो करोडौँले हेर्छन् ।
सन् २०१७ मा फोब्र्स म्यागेजिनले उनलाई विश्वमा सबैभन्दा धेरै कमाउने युट्युब सेलिब्रेटीको सूचिमा समेत राखेको थियो । सन् २०१५ को मार्चबाट उनको युट्युब च्यानल सुरु भएकोमा अहिलेसम्म त्यसमा १६ अर्बभन्दा धेरै भ्यूज पुगिसकेको छ । सानै उमेरबाट खिलौनाको रिभ्यू गर्ने टिभी च्यानल हेर्ने उनले तीन वर्षको उमेरदेखि युट्युब च्यानल खोलेका थिए । –एजेन्सीको सहयोगमा