कुमारी बैंकले एक साता नबित्दै पुनः घटायो ब्याजदर
काठमाडौँ – कुमारी बैंकले एक साता नबित्दै पुनः ब्याजदर घटाएको छ ।
एकसाताको अन्तरमा यो बैंकले पुनः निक्षेपको ब्याजदर घटाएको हो । पुस १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आउने ब्याजदर करिब ९ प्रतिशतसम्म घटेको छ ।
नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेलगत्तै ब्याजदर घटाएर बजारमा आशा र उत्साहको सञ्चार गरेको कुमारी बैंकले पुस १ गतेदेखि लागू हुने गरी व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर न्यूनतम ७.७५ प्रतिशतसम्म कायम गरेको हो ।
तीन महिनादेखि १ वर्षसम्मको अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ७.७५ प्रतिशत तोकिएको छ । एकदेखि २ वर्षसम्मका लागि ब्याजदर घटाएर ८.२५ प्रतिशत, २ देखि ५ वर्षसम्मको निक्षेप योजनाका लागि ८.७५ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिका लागि ९.३१ प्रतिशत तोकिएको छ ।
मंसिर २४ गतेदेखि लागू हुने गरी कुमारी बैंकले व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ८.५१ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, ६ महिनादेखि १ वर्षका लागि ९.१० प्रतिशत, एक वर्ष वा सोभन्दा बढी अवधिका लागि ९.६१ प्रतिशत ब्याजदर तोकेको थियो ।
सामान्य बचतको ब्याजदर पनि ४.७१ बाट घटाएर ४।५१ प्रतिशत कायम गरिएको छ ।
रेमिट बचत खाताको ब्याजदर ५.५१ प्रतिशत, आईपीओ बचत खाताको ६।५१ प्रतिशत, रेमिट प्रिमियम बचत खाताको ६.५१, कर्णाली क्षेत्रमा छोरी बचत खाताका लागि ६.५१ प्रतिशत, कुमारी गज्जबको बचत खाताका लागि ६.५१ प्रतिशत तोकिएको छ ।
कुमारी बैंकले यसअघि नै आफ्ना कर्जाका सबै प्रडक्टहरुको ब्याजदर आधारदरमा अधिकतम ३.५ प्रतिशत प्रिमियम जोडेर निर्धारण हुने जनाइसकेको छ ।