माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकद्वारा “एकीकृत व्यापारी व्यवस्थापन प्रणाली” संचालनको लागि सम्झौता

सोमबार, २ पौस २०८०

काठमाडौं— माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले आज (सोमबार) एकीकृत व्यापारी व्यवस्थापन प्रणाली गेट पे संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् ।

उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुखकार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फ बाट नायब महा प्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

नेप्स र सिटीटेकको सहकार्यमाविकास गरिएको गेट पे नामक MMS संचालनमा आई सकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र संजालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग–अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

यसका साथै हाल प्रचलनमा आईरहेका सबै भुक्तानी उपकरणहरु तथा संजालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपुर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् ।

सम्झौतापछि, तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।