सुदन किराँतीको बर्खास्तीको माग गर्दै संस्कृति संगठनहरुले गरे लफडा

बिहिबार, ५ पौस २०८०

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले पशुपतिमा लफडा गरेका छन् ।उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै  स्कृति मन्त्रीलाई बर्खास्तिको माग सहित पशुपतिमा लफडा गरेका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए । बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको विरोध भइरहेको छ ।

विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताए । उनले मन्त्रीको अभिव्यक्ति मन्त्रीको पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरे । मन्त्री भएर सामाजिक सद्भाव बिगार्ने काम गरेको उनको भनाइ छ ।

विरोध प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणालगायत नेताहरुको पनि सहभागिता रहेको थियो । राणाले सुदन किरातीको अभिव्यक्तिको विरोध गर्दै आफूले भेटेरै राजीनामा दिन भनेको बताए । नेपालमा बढ्दो धर्म परिवर्तनको विषयमा राप्रपाको गम्भीर चासो रहेको उनको भनाइ थियो ।