सन्दीपका विषयमा क्यानले पुस २५ पछि आधिकारिक निर्णय गर्ने

बिहिबार, १९ पौस २०८०

‘काठमाडौं –नेपाल क्रिकेट संघ क्यान ले क्रिकेटर सन्दीप लामिछानेबारे पुस २५ गतेपछि मात्र आधिकारिक निर्णय गर्ने भएको छ ।

क्यानका सचिव पारस खड्काले बिहीवार वार्षिक क्यालेन्डर सर्वाजनिक गर्ने कार्यक्रममा उनलाई टोलीमा राख्ने वा नराख्ने भन्ने निर्णय २५ गतेको अदालतको फैसलापछि मात्र गरिने जानकारी दिएका छन् ।

‘काठमाडौं जिल्ला अदालतको फैसलापछि मात्र क्यानकोतर्फबाट आधिकारिक निर्णय आउने छ,’ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने ।

यसबारे क्यानका कानूनी सल्लाहकारले सन्दीपको वकिलसँग छलफल गरिरहेको पनि उनले बताए । साथै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग समेत आफूले छलफल गरिहेको उनको भनाइ थियो ।

‘अध्यक्षसँग पनि छलफल भइरहको छ,’उनले भने ‘मुद्दाको फैसला २५ गते हुँदैछ । अदालतको फैसलापछि मात्र हामी सन्दीपबारेमा आधिकारिक निर्णय गर्नेछौं ।’

पुष १३ गते जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । कानूनत उनी ७ देखि १० वर्षसम्म कैद हुन सक्छन् ।

यसैले न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले सन्दीपमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपविरुद्ध भदौ २०७९ मा उजुरी एक किशोरीले बलात्कार गरेको आरोप लगाउँदै उजुरी हालेकी थिइन् ।

क्यानले आधिकारिक निर्णय गरेको नभए पनि अहिलेकै अवस्थामा सन्दीपले राष्ट्रिय टोलीबाट खेल्ने सम्भावना छैन । यदि उच्च अदालतले सफाइ दिएको अवस्थामा भने उनी टोलीमा फर्कन सक्छन् ।
सन्दीपले जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्दैछन् ।