१७ करोडको गाडी किन्दै एएईसी ग्लोबलका मालिक सिमखाडा
काठमाडौं – विद्यार्थीलाई शैक्षिक परामर्श दिन केही वर्षअघि स्थापना भएको अब्रोड अप्लिकेशन एजुकेशन कन्सल्टेन्ट ग्लोबल प्रा.लि. (एएईसी ग्लोबल) का मालिक केशव सिमखाडाले १७ करोडको गाडी खरिद गरेका छन् । नेपालमा कुनै समय पूर्वराजा विरेन्द्रले चढ्ने रोल्स रोयस नामको गाडी १७ करोडमा खरिद गरेका हुन् । नेपालमा यो कम्पनीका गाडीहरु ५ करोडदेखि ५५ करोडसम्म पर्ने गरेका छन् ।
नेपालमा आधिकारिक डिलर नरहेको यो कम्पनीको गाडी सिमखाडाले भारतको नयाँ दिल्लीमार्फत खरिद गरेका हुन् । सिमखाडाको यो कम्पनीले नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा पठाउने गर्दछ । उनले हजारौं विद्यार्थीलाई विदेश पठाएर करोडौं आम्दानी गरी १७ करोडको रोल्स रोयस गाडी किन्ने हैसियतमा बनाएका हुन् । त्यही आम्दानीका आधारमा उनले लग्जेरियस गाडी खरिद गरेका हुन् ।
यो गाडी खरिद गर्नका लागि गाडी उत्पादक कम्पनीले खरिदकर्ताको आर्थिक हैसियत मापन गर्ने गर्दछ । कम्पनीको मापदण्डमा परेका व्यक्तिले मात्र यो गाडी किन्न पाउँछन् । सिमखाडाले यो गाडी किन्ने हैसियत भएको प्रमाणित गर्नका लागि २७ पटक अन्तरवार्ता दिएका छन् । उनले २६ पटक भर्चुअल माध्ययमबाट अन्तरवार्ता दिएका थिए भने अन्तिम पल्ट भौतिक रुपमै उपस्थित भएर नयाँ दिल्लीस्थित कम्पनीको कार्यालयमामा अन्तरवार्ता दिएका थिए । उनी सबै अन्तरवार्तामा पास भएपछि कम्पनीले गाडी खरिदका लागि अनुमति दिएको थियो ।
तर उनले खरिद गरेको उक्त गाडी नेपालमा ल्याउन भने सकेका छैनन् । गाडी उत्पादक कम्पनीको नेपालमा डिलर नभएकाले उनलाई गाडी ल्याउन समस्या भएको हो । भन्सार कटाएर गाडी ल्याउन समस्या भएपछि सिमखाडा आफैले नेपालमा डिलर खोलेका छन् । सिटी इन्टरनेशनल नामक कम्पनी खोलेर उनले उक्त गाडी भित्र्याउन लागेका छन् । ‘नेपालमा डिलर नभएका कम्पनीका गाडीहरु ल्याउन नपाइने नियम रहेछ । त्यही भएर मेरो गाडी आउन ढिला भयो ।’, सिमखाडाले मोटिभेट न्यूजसँग भने, ‘मैले आफै डिलर खोलेर यातायात व्यवस्था कार्यालयमा दर्ता गरि भन्सारको सम्पूर्ण काम सिध्याएको छु । अब केही महिनामा गाडी नेपाल आउँछ ।’
नेपालमा यो कम्पनीको गाडी पूर्वराजा विरेन्द्रबाहेक कसैले चढेका छैनन् । पूर्वराजाले पनि बेलायतकी महारानी यलिजाबेदले उपहारको रुपमा दिएपछि चढेका थिए । यो गाडीका पाटपुर्जा नेपालमा उपलब्ध नहुने, गाडी सर्भिसिङका लागि विदेशबाट मेकानिक बोलाउनु पर्ने, गाडी विग्रिएको खण्डमा पनि विदेशबाट मेकानिक बोलाउनु पर्ने भएपछि धेरैले किनेका थिएनन् । सिमखाडाले भने आफू यो सबै गर्न सक्ने भन्दै कम्पनीलाई विश्वास दिलाएर गाडी खरिद गरेका हुन् । सिमखाडा अहिले ३ करोड ५० लाख पर्ने टेस्ला ब्राण्डको गाडी चढिरहेका छन् ।
चितवनका स्थानीय बासिन्दा सिमखाडाले तीन वर्षअधि यो कम्पनी संचालन गरेका थिए । यो अवधिमा उनले काठमाडौंमा एउटा घर, गाडी र कार्यालयमा लाखौं लगानी गरेका छन् ।