यस वर्षको एसईई परीक्षा चैतको पहिलो साता
काठमाडौँ – संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुनेरनहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो ।
परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा हुने बताएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।
उनले भने, ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो साताबाट हुन्छ । माघको पहिलो सातामा रुटिन निकाल्छौँ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन्छ । यसमा कुनै शङ्का नगर्न सबैमा अनुरोध छ।’
संसद्मा विद्यालय शिक्षा विधेयक पास भएर कानुन नबनेसम्म एसईई हुने प्रष्ट पार्दै ‘विद्यालय शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको र उक्त विधेयक पास भएर संसद्मा गएर त्यहाँ पनि पास भएर ऐन बन्न लामो समय लाग्ने भएकाले (एसइइ) चलिरहने बताए ।