सरकार कामभन्दा बढी सत्ता जोगाउन केन्द्रित भएको जसपाको आरोप
काठमाडौँ – सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकार आफ्नो काममा भन्दा पनि सत्ता जोगाउन बढी केन्द्रित भएको आरोप लगाएको छ।
जसपाको जारी राजनीतिक समितिको बैठकमा पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारले एक वर्ष पूरा गरे पनि गठबन्धनको साझा
गठबन्धन सरकारले गरेको प्रतिवद्धता अनुरूप संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन एवम् विकास गर्ने काम हुन नसकेको जसपाको भनाइ छ । जसपाले देशको अर्थतन्त्र सुदृढ गर्न केही नीतिगत प्रतिवद्धता आए पनि संरचनागत सुधारको काम प्रारम्भ हुन नसकेको जनाएको छ ।
सरकार गठनलगतै सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा गरेको प्रतिवद्धता तथा भ्रष्टाचारविरुद्धको कारबाहीले गर्दा सरकारप्रति जनताको भरोसा बढे पनि पछिल्ला दिनमा सरकारका यी कदम विस्तारै कमजोर हुँदै गएको निष्कर्ष जसपाले निकालेको छ ।
सबै किसिमका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, मिटरब्याज, लघुवित्त र सहकारीपीडितलाई न्याय दिने, उखु किसानहरूलाई वक्यौता भुक्तानी र न्यूनतम मूल्य निर्धारण, लामो समयदेखि आउन नसकेको शिक्षा विधेयकलाई संसदमा दर्ता गर्ने तथा लाखौँ सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी र स्ववासीहरूको समस्या समाधान गर्न एकसाथ जग्गाधनी प्रमाणपत्र दिने तयारीलगायतका काम सकारात्मक रहेको जसपाले जनाएको छ ।