८ प्रतिशतमा झर्यो बैंकको ब्याजदर, कुन बैंकको कति ?
काठमाडौँ – बैंकको ब्याजदर ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर घटाउँदा ब्याजदार ८ प्रतिशत हाराहारीमा झरेको हो ।
बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ । २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी सिटिजन्स् बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ९.१५ प्रतिशत प्रस्ताव गरेको छ भने बैंकले संस्थागत निक्षेपमा ६.६ प्रतिशत प्रस्ताव गरेको छ । कृषि विकास बैंकले सबैभन्दा सस्तो व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत प्रस्ताव गरेको छ भने संस्थागत निक्षेपमा ५.७६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।
पुसको तुलनामा कृषि विकास बैंकले १.२५ प्रतिशतले ब्याजदर घटाएको हो भने सिटिजन्स् बैंकले जम्मा ०.२ प्रतिशतले मात्र घटाएको हो । यस्तै अन्य बैंकहरुमा नेपाल एसबीआई बैंकले १.३५ प्रतिशतले ब्याजदर घटाउँदै माघ महिनाका लागि निक्षेपको ब्याजदर ८.२५ प्रतिशत प्रस्ताव गरेको छ भने सिद्धार्थ बैंकले १.१५ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, प्राइम कमर्सियल बैंकले १.९ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, माछापुच्छ्रे बैंकले १.६ प्रतिशतले घटाउँदै ८ प्रतिशत, कुमारी बैंकले १.२ प्रतिशतले घटाउँदै ८.११ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १ प्रतिशतले ब्याजदर घटाएर ८ प्रतिशत प्रस्ताव गरेको छ ।
यसैगरी नेपाल बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पुसको ब्याजदरमा १ प्रतिशत कमले घटाएका छन् । २० वटा बैंकमध्ये चारवटा बैंकहरु एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले भने ब्याजदर यथास्थितिमा राख्दै क्रमशः ८ प्रतिशत, ८.०७ प्रतिशत, ९ प्रतिशत र ९.१५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै जाने तर यता लगानी (कर्जा) को माग नहुँदा बैंकहरुको खर्च बढी हुँदा पनि ब्याजदर घटाउन बैंकहरु बाध्य भएका हुन् ।