माओवादी केन्द्रका महासचिव देव गुरुङमाथि लाग्यो भ्रष्टाचार गरेको आरोप (प्रमाणसहित)
काठमाडौँ – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ । जाजरकोट भूकम्प पीडितका लागि राहत वितरण गर्ने क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको सहयोग सामग्रीमा गुरुङले भ्रष्टाचार गरेको आरोप लागेको हो ।
माओवादीकै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले पार्टी महासचिव गुरुङले भ्रष्टाचार गरेको भन्दै आरोप लगाएका हुन् । पार्टीले आफूमाथि कारबाही गरेको विषयको स्पष्टीकरण पत्रमा केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाएका हुन् । वैकल्पिक केन्द्रीय सदस्य केसी र उनको सचिवालयका एक सदस्यले जाजरकोट भूकम्प पीडितका लागि राहत वितरण गर्ने क्रममा चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा उनीमाथि पार्टीले कारबाही सिफारिस गरेको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको सहयोग सामग्रीलाई गुरुङले भनसुन गरी आफ्नो भदैनीको पति रहेका मुक्ति मरासिनीको संस्था ग्लोबल कोओपरेसन फर डेभलपमेन्टलाई दिलाएको र यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुवै हिस्सेदार रहेको केसीको दाबी छ । उनले दुवैमाथि पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गर्न मागसमेत गरेका छन् ।
उनले पत्रमा लेखेका छन्, ‘मरासीनीले भन्न थाल्नु भो, अरू पार्टीले मजाले खाका छन् । खान जानेका छन् तपाईंहरू खान नजानेर यत्रो सानो पार्टी भाको छ । खानुपर्छ कमरेड, हामीलाई कसैको भर्पाई दिनुस्, समान बुझेर लानुस् र मजाले खानुस् । उनले निस्फिक्री यो कसरी खान र लुट्न सकिन्छ भनेर प्रशिक्षण चलाउन थाले । मेरा आस्थाका धरोहर महासचिव कमरेडले त्यो मरासिनीलाई मज्जाले हप्काउलान् भनेको त मक्ख परेर सुनेका छन् । मैले यस्तो नाङ्गो लुटपाटको सल्लाह कहिल्यै देखेको सुनेको थिइनँ । महासचिव कमरेड त्यो रात सम्झिनुस् । मातृका दाइ अर्कै कोठामा हुनुहुन्थ्यो । मलाई लाग्छ उहाँ त्यही भएको भए मरासिनीको सातो जान्थ्यो ।’