सहकारी प्रकरणमा रविले गृहमन्त्रीलाई दिए यस्तो चुनौती
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जीबी राईलाई पक्रिन नचाहेको बताएका छन् ।
मंगलबार राजधानीमा रहेका कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरूले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जीबी राईलाई पक्रिन नचाहेको बताए ।
उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रूपमा सहकारी पीडितहरूलाई न्याय दिन नचाहेको जिकिर गरे । उनले पीडितलाई न्याय दिलाउने काम गर्नुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागिपरेको बताए । गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनुभन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको भन्दै आफूलाई सहकारी ठगी आरोपमा डाम्न नसक्ने बताए ।
सभापति लामिछानेले सरकारले जीबी राईलाई समाउन लागे सक्ने पनि बताए । उनले उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जीबीलाई किन समाउन नसकेको भनि प्रश्नसमेत गरे । उनले सरकारले आफूलाई फसाउन र रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर प्रयास गरेको उल्लेख गरे ।
उनले भने, ‘उहाँहरूलाई त रवि लामिछानेलाई थुन्नुपरेको छ । यसलाई दोषी देखाइदिनु परेको छ । यसलाई डाम्नु परेको छ । सक्नुहुन्न । सक्दै त सक्नुहुन्न । असम्भव । सहकार्य गर्ने हो भने हामी तयार छौँ । के कुरालाई केन्द्रमा राख्ने ? के कुरालाई महत्व दिने रु त्यसमा भर पर्छ ।’