कांग्रेसले भन्यो : ओली नेतृत्व सरकारको एक वर्षे कार्यकाल निराशाजनक
बैशाख ३, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको एक वर्षे निराशाजनक भएको दाबी गरेको छ ।
पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले काम गर्नुभन्दा धेरै बोल्नेमात्रै काम गरेको आरोप लगाए । प्रधानमन्त्रीले नयाँ वर्षमा आइतबार बिहान देशव्यापीका नाममा सम्बोधन गर्दा सरकारको विरोध गर्नेलाई वृद्धवृद्धा र युवाले ढुंगा बर्साउँलान् भनेर प्रतिपक्षी दलहरूलाई गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा शर्माले आपत्ति जनाएका छन् ।
२०७५ सालमा गरेका गल्तीबाट पाठ सिकेर २०७६ लाई समृद्धिको दिशातर्फ जाने गरी काम गर्न पनि कांग्रेसले प्रधानमन्त्रीलाई सचेत गराएको छ । सरकारले संघीयता कार्यान्वयन गर्न नसकेको, कर्मचारी समायोजन गर्न नसकेको, प्रदेशको मागअनुसार बजेट विनियोजन नभएको, मुख्यमन्त्रीलाई आसन दिए पनि शासन दिन नसकेको र प्रधानमन्त्री कार्यालयमा अनावश्यक शक्ति केन्द्रिकृत गरेको कांग्रेसको आरोप छ ।
संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि रहने संविधानले परिकल्पना गरे पनि सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा निर्णय गरेर सरकारले गल्ती गरेको प्रवक्ता शर्माको भनाइ थियो ।
पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले जनविरोधी काम गरिरहेको दाबी गरे । प्रधानमन्त्रीले देशब्यापीका नाममा सम्बोधन गर्नुपर्ने भए पनि पार्टी र गुट विशेषका लागि सम्बोधन गरेको निधिले आरोप लगाए ।