प्रधानमन्त्री फेर्ने कुरा बाटोमा हल्ला गर्दै हिड्ने होइन मिडियालाई थाहै नदिएर फेर्ने हो: नेता नेपाल
काठमाडौँ – सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले यो विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरे ।
बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाइ थियो ।
उनले राष्ट्रियसभा अध्यक्षको चयनमा सत्तारुढ दलहरूबीच विवादको विषय नबन्ने जिकिरसमेत गरे । ुमन्त्री फेर्नु छ भने जुन दिन फेर्नु छ, ठ्याक्कै फेरिहाल्ने हो । मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैनु, नेपालले भने ।