शान्तिबाटिकामा वालेनले हिटलरी आतंक फैलाएको गुनासो
काठमाडौं – रानीपोखरी नजिकै शान्तिबाटिकामा धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाले हटाएको छ । धर्नाबाट हटाइएकाहरुले शान्तिवाटिकामा मेयर बालेन्द्र शाहले अशान्ति फैलाएको आरोप लगाएका छन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर शाहले अन्यायमा परेकामाथि ज्यादती गरेको आरोप लगाएका हुन् ।
शान्तिवाटिकामा धर्नामा बसेका पीडितहरूलाई महानगरले रानीपोखरी आसपास फोहोर गरेको भन्दै मंगलबार त्यहाँबाट धपाएको थियो ।
मिटरब्याज पीडितका साथै दाइजोका नाममा हत्या गरिएकी आरती साहको परिवार पनि माइतीघरबाट लखेटिएर शान्तिबाटिकाकै धर्ना बसिरहेका थिए । आरतीका दाजु प्रेम साहले बालेन साह हिटलर भएको आरोप लगाए । उनले प्रश्न गरे, ‘तपाई गरिब जनताको मेयर हो कि धनीको मात्रै हो र ?’
उनले गरिबका लागि बोलिदिने कोही नभएको बताए । धर्ना बस्दै आएका साहले प्रश्न गरे, ‘लोकतन्त्र भनेको यही हो रु तानाशाह शासक बस्ने राज्यमा कसरी लोकतन्त्र हुन्छ रु प्रधानमन्त्री, गृहमन्त्री धर्ना बस्न हुने, नागरिकले बस्न नहुने र ?’
त्यस्तै मिटरब्याज पीडित संघर्ष समितिकी अध्यक्ष मुना के.सी।ले नगर प्रहरीले पूर्वसूचना नदिई आएर भाँडा र लुगा फ्याँकिदिएको बताइन् ।
विभिन्न घटनाका पीडित महिला तथा बालबालिकालाई अमानवीय ढङ्गले शान्तिवाटिकाबाट निकालेको मुनाले बताइन् । उनले आक्रोशित हुँदै भनिन्, ‘डोजरले उठाएर हामीलाई कतै लगेर फालिदिनुस् ।’
मेयर बालेनलाई आफूहरूले राम्रो मेयर मानेको तर उनैले अन्याय गरेको भन्दै उनले प्रश्न गरिन्, ‘यो अन्याय गृहमन्त्रीले देखेको छ कि छैन ?’ मिटरब्याज पीडित ४ सय १० दिनदेखि धर्नामा छन् ।