‘विवाह गर्नुअघि वडाबाट अनिवार्य स्वीकृति लिनुपर्ने’
रास्कोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ४ ले विवाह गर्नुअघि अनिवार्य रुपमा वडाबाट स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । वडा समिति र सरोकारवालाहरुको एक उपस्थितिमा बाल विवाह र छिटो विवाह न्यूनिकरणका लागि वडाको सिफारिस अनिवार्य गर्ने निर्णय गरिएको हो ।
वडाबाट स्वीकृति नलिएर गरिएको विवाह वडामा दर्ता नहुने वडा कार्यालयले जनाएको छ । वडाको निर्णयलाई उल्लङ्घन गरेमा कानूनी कारवाही हुने वडा अध्यक्ष दिनेश संज्यालले बताए । वडामा बाल विवाह बढेको भन्दै यसलाई न्यूनीकरण गर्नका यस्तो निर्णय गरिएको उनको भनाई छ ।
प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपाल कालिकोटको साझेदारीमा संचालित बाल विवाह, छिटो विवाह र जबरजस्ती विवाह न्युनिकरण तथा शसक्त बालिका परियोजनाले समेत बाल विवाह न्युनिकरणका कार्यक्रमहरु संचालन गरेकाले बाल विवाह कम हुँदै गईरहेको अध्यक्ष संज्यालको भनाई छ ।
बाल विवाह निशेधित वडा बनाउनका लागि कडा निर्णयको आवश्यकता भएको संज्यालको ठहर छ । बाल विवाह निशेधित वडा घोषणाका लागि टोल टोलमा र्यालि तथा हस्ताक्षर संकलन कार्य पनि भईरहेको छ ।
संज्याल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । यसअघि नेपाली कांग्रेसकी नेतृ आरजु राण देउवाले विवाह गर्नका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने धारण राखेकी थिइन् ।