बल्ल आयो शालिनको पोष्टमार्टम रिपोर्ट, बलात्कार देखिएन तर यस्तो रहेछ मृत्युको कारण
काठमाडौं – चितवनको शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको पोस्टमाटम रिपोर्ट आएको छ । रिपोर्ट अनुसार ‘झुण्डिएको कारण’ उनको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरी उच्च स्रोतले बतायो । आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सकहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको एक अधिकृतले बताए ।
जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी श्रीराम भण्डारीले भने पोष्टमार्टमको प्रतिवेदन तयार भएकाले लिनलाई प्रहरी टोली काठमाडौं गएको बताए । उनले भने, ‘चितवनबाट चाहिँ मैले रिपोर्ट आइसकेपछि मात्र बताउन सक्छु ।’
स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । लगत्तै काठमाडौंबाट उनका बुबालाई बोलाएर प्रहरीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
तर, परिवारले शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि घटनाबारे गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै शनिबार स्ट्याटस लेखेका थिए ।