प्रधानमन्त्रीले चिया खान बोलाए भन्दै एकाबिहानै बालुटार हानिए ओली

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाबिहानै बालकोटबाट बालुवाटार हानिएका छन्। प्रधानमन्त्रीले चिया खान बोलाएको होला भन्दै ओली बालकोटबाट सरकारी निवास बालुवाटारतर्फहानिएका हुन्  ।

बालुवाटार जाने क्रममा आफ्नै निवास परिसरमा उपस्थित सञ्चारकर्मीसँग ओलीले संक्षिप्त प्रतिक्रिया दिए ।

उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ‘टीआरसी’ मिलाउनु पर्ने बताए । उनले प्रधानमन्त्रीले बोलाएका कारण आफू बालुवाटार जान लागेको पनि प्रस्ट पारे ।

‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो,’ ओलीले भने, ‘यसो चिया खान बोलाएको होला ।’

उनले सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्न उपयुक्त हुने बताए । ‘सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीले जान्ने कुरा हो,’ उनले भने ।