मन्त्री परिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीलाई समेटेर प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तार गर्ने भएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् । कांग्रेस माओवादी गठबन्धनमा मन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु शक्तिबहादुर बस्नेत र रेखा शर्माले मन्त्रीमा निरन्तरता पाउने माओवादी केन्द्र स्रोतले जनाएको छ । श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनेछन् भने अर्थमन्त्री वर्षमान पुन हुनेछन् ।

शक्तिबहादुर बस्नेतले उर्जा मन्त्रालय र रेखा शर्माले संचार तथा सूचना प्रविधि मन्त्रालय नै सम्हाल्ने छन् । माओवादी केन्द्रबाटै मन्त्री बनेका हितबहादुर तामाङले सांस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्रालय लिने माओवादी केन्द्रले जनाएको छ ।

यस्तै, एमालेबाट सचिव रघुवीर महासेठले सरकारको नेतृत्व गर्नेछन् । उनलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीको जिम्मा दिइएको एमाले नेताहरुले बताएका छन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

जसपाले भने सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्न बाँकी छ ।