युवतीसँग नाम जोडिएपछि प्रधानमन्त्रीले दिए राजीनामा

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं – एक युवतीसँग नाम जोडिएपछि पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले राजीनामा दिएका छन् । एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि उनले मङ्गलवार राजीनामा दिएका हुन् ।

ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपतिसमक्ष राजीनामा पेश गरेको बताए । ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन् । उनले राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमा कामसमेत गरेका थिए ।

ओटारोलाले एक २५– बर्षीया युवतीलाई क्यानडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएका थिए । ५७ वर्षीय ओटारोला विवाहित हुन् र उनका पाँच सन्तान छन् ।

गत हप्ताको अन्त्यमा, टेलिभिजन कार्यक्रम प्यानोरमाले यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न कूल १४ हजार अमेरिकी डलरको दुई सम्झौताहरू प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी एक महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादा विपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

सम्झौता गर्दा अनियमितता भएको हुनसक्ने आधार मानिएको रेकर्डेड कुराकानीमा प्रधानमन्त्री ओटारोलाले ती युवतीलाई भनेका छन्, ‘प्रिय, तिमीलाई थाहा छ ‘यी प्रसङ्ग’ ले दुःख दिएका छन् । तिनीहरू हाम्रा लागि पीडा हुन् । तर तपाईंलाई यो पनि थाहा छ कि म तपाईंलाई माया गर्छु ।’

पिनेडोका अनुसार उक्त कुराकानी ओटारोलासँग उनी क्याबिनेट मन्त्री हुनुअघि सन् २०२१ मा भएको हो । पिनेडोले प्रधानमन्त्री ओटारोलासँग आफ्नो छोटो ‘भावनात्मक सम्बन्ध’ भएको कुरा स्वीकारेका थिए ।