राष्ट्रियसभा अध्यक्षमा पनि प्रचण्ड कै परिवारका सदस्यले पाए टिकट

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा पार्टी अध्यक्ष प्रचण्डका भाई नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रचण्ड भाईसमेत रहेको दाहाल राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सांसद हुन्। नारायण दाहाल ०७८ मा राष्ट्रियसभा सदस्य मनोनित भएका थिए।

राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी थिए। विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उठाउने निर्णय गरेको छ।

राष्ट्रिय सभाको निर्वाचन आउँदो फागुन २९ गते हुँदैछ । यसअघि बुहारी विना मगरलाई मन्त्री बनाएको, छोरी रेणु दाहाललाई भरतपुरको मेयर बनाएको, छोरी गंगा दाहाल सचिवालयमा राखेको, छोरी ज्वाई जीवन आचार्यलाई प्रदेशमन्त्री बनाएर लाभको पदमा पुर्याएको भन्दै आलोचना हुने गरेको थियो ।