सुनकाण्डमा मुछिइन् सीआईबी प्रमुख बज्राचार्य
काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्य सुन तस्करी काण्डमा मुछिएकी छन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले सीआईबी) बज्राचार्यलाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगले बज्राचार्यले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको हो । सीआईबीले मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोप लागेको छ ।
योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ ।उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएरसमेत छाडेको उनीहरुमाथि आरोप छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत ब्रिफिङ गरेका छन् ।