अबिवाहित उपमेयरले सुनाइन् सबैभन्दा मनमिल्ने साथीको कथा

आइतबार, ४ चैत्र २०८०

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनाता डंगोलले ‘नित्या रञ्जना’ लिपी आफ्नो मनमिल्ने साथी भएको बताएकी छन् । अबिवाहितसमेत रहेकी उपमेयर डंगोलले शनिबार ‘रञ्जना युनिकोड फन्ट’ को विमोचन गर्दै थकित भएर घर फर्किदा मन भुलाउने साथी नित्या रञ्जना भएको बताएकी हुन् ।

उनीसहितको अगुवाईमा स्थापना भएको ‘क्यालिजात्रा’ फाउण्डेसनले रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा गहन छलफल गर्दै आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्धन गर्ने उदेश्यले ‘रञ्जना युनिकोड फन्ट’को आधिकारिक सुरुवात गर्दा खुशी लागेको बताइन् ।

दिनभरी काम गरेर थकित भएर घर पुग्दा पनि डंगोलको मनमिल्ने साथी रञ्जना लिपि नै हुने गरेको बताइन् । ‘मैले त्यतिबेला रञ्जना लिपि लेख्नका लागि कागजका टुक्रादेखि काठका टुक्रासम्म प्रयोग गरेँ,’ उनले भनिन्, ‘रञ्जना लिपि लेख्दै गएपछि यस्तो राम्रो काम आफूले मात्रै सिकेर हुन्छ र ? अब त सिकाउन थाल्नुपर्छ भनेर भावना पैदा भयो । त्यसपछि हामीले कक्षा कोठामा मात्रै बसेर सिकाउने परम्पराको अन्त्य गर्ने भन्दै अरुलाई पनि सिक्ने महत्वकांक्षा जगाउन ‘क्यालिजात्रा’ अभियान सुरुवात गर्यौं ।’

‘मलाई अहिले पनि आफूले गरेको काममा केही कुरा देखेर, सम्झेर अझै पनि खुशी लाग्छ र एकदमै आनन्द प्राप्ति हुन्छ भने त्यो रञ्जना लिपिको अभियन नै हो,’ उनले भनिन्, ‘त्यतिबेला राति अवेरसम्म बसेर पाठ्यक्रम बनाएको, ठाउँठाउँमा वर्कसप गर्दा सबैबाट अपार माया र स्नेह पाएको अहिले पनि सम्झना ताजै छ ।’

रञ्जना लिपीबाट सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने क्यालिजात्रा फाउन्डेसनले जनाएको छ । कार्यक्रममा रञ्जना लिपीबारे स्व वर्ण, व्यञ्जन वर्ण र अंकहरू कसरी लेख्ने भनेर रञ्जना लिपीमा टाइप गरेर देखाइएको थियो । साथै आर्ट काउन्सिलमा रञ्जना फन्टमा लेखिएका अक्षरको प्रदर्शनी समेत गरिएको थियो ।