अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड अदालतबाटै पक्राउ
काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।
सोमबार प्रसाईंको मुद्दामा सुनुवाइ हुँदै थियो । त्यसैका लागि उनी बिहान १० बजे बडीगार्डसहित सर्वोच्च पुगेका थिए । प्रसाईं र उनका सुरक्षागार्ड खड्का सर्वोच्चको मूलगेटबाट सँगै र अर्का बडीगार्ड धिमाल अर्को गेटबाट छिरेका थिए ।सोही क्रममा गेटमा रहेका सुरक्षाकर्मीले उनको खानतलासी लियो ।
झोलामा लुकाई राखिएको ‘अर्मेनिया परिनी एसएलआर–इटाली, मेडइन स्विडेन, जिएसजी–५’ लेखिएको स्वचालित हतियार फेला परेको थियो । प्रहरीले झोलाभित्र हतियारको सानो म्यागजिन २, ठूलो म्यागजिन २, म्यागजिनको होल्ड १ र गोली १०० राउन्ड फेला पारेको छ ।
लाइसेन्स लिइएको हतियार सम्बन्धित व्यक्तिबाहेक अन्यले बोक्न पाउँदैन । प्रहरीका अनुसार बरामद हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिइएको छ । अनुमति प्रसाईंका नाममा र बाहकका रूपमा बडीगार्ड खड्काको नाम छ । तर, उक्त हतियार उनका अर्का बडीगार्ड धिमालको साथबाट बरामद भएको छ । जुन कानुनविपरीत हो ।