माधव नेपालका तीन मागले संकटमा पर्यो सत्ता गठबन्धन, ढल्ने भयो माओवादी सरकार
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कारण सत्तरुढ गठबन्धन समस्यामा परेको छ । आइतबार सत्तारुढ दलहरुको बैठकमा नेपालले विभिन्न तीन मागहरु राखेर अड्डी कसेपछि गठबन्धन समस्यामा परेको हो ।
नेपालले बैठकमा ७ प्रदेशमध्ये १ प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनु्पर्ने, संबैधानिक निकायमा सबै राजनीतिक दलको समान भागवण्डा हुनुपर्ने र राजनीतिक नियुक्तिहरूमा समान हिस्सेदार बनाउनुपर्ने माग राखेका थिए । नेपालका तीन माग पुरा गर्न प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि माओवादी केन्द्रको नेतृत्वमा बनेको बागमती प्रदेश सरकार संकटमा परेको छ ।
आफ्ना माग पुरा नभएको भन्दै वर्तमान अवस्थामै प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिने भएको छ । जम्कट्टेलले भोली अर्थात चैत १९ गते विश्वासको मत लिदैछन् । एकीकृत समाजवादीका तर्फबाट प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले यस्तै अवस्थामा सरकारलाई जोगाउन नसकिने बताए ।
मन्त्री डा. श्रेष्ठले प्रदेश सरकारको व्यवहार, गठबन्धन घटक दलप्रतिको धारणामा गम्भीर छलफल नभएसम्म विश्वासको मत दिन नहुने सांसदहरूको धारणा रहेको बताए । राजनीतिक भागबण्डा, पावर सेयरिङ्ग लगायतका विषयमा सरकारको ठोस निष्कर्ष नआएसम्म अघि बढ्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । विगतको व्यवहार, हैसियत र दलको पोजिसनका बारेमा छलफल गरेरमात्र विश्वासको मतबारे सोच बनाउने कुरा संसदीय दलको बैठकमा उठेको मन्त्री डा। श्रेष्ठले बताए ।
प्रदेश सरकारको नेतृत्व दाबी गरिरहेको सत्ता साझेदार दललाई कम आकलन गरेर सरकार अघि बढिरहेको र केन्द्रमा सरकारको नेतृत्वको विषयमा निर्णय नभएकाले विश्वासको मत सम्बन्धमा अघि बढ्न नसक्ने उनले बताए । राजनीतिक रुपमा सरकारबाट ठोस सहमतिको प्रस्ताव आएमा फरक ढङ्गबाट अघि बढ्न सक्ने उनको भनाइ छ ।
एकीकृत समाजवादीले विश्वासको मत नदिएर जम्कट्टेलको सरकार ढल्नेछ । ११० सदस्यीय बागमती प्रदेशसभामा विश्वास जित्न ५६ जना सांसदको आवश्यकता पर्छ । ७ सदस्यीय समाजवादी पार्टीको विश्वासको मत नदिए जमरकट्टेलको सरकार अल्पमतमा पर्छ । । सत्तारुढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, हाम्रो नेपाली पार्टीका २ सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ (सभामुख सहित) र नेमकिपाका ३ सांसद छन् ।