आफ्नै घरभित्र सल्केको आगो कार्यकर्ताको टाउकोमा झोस्दै रञ्जिता, रमिते बने रेशम चौधरी
काठमाडौँ – नयाँ सत्ता समिकरणमा फेरबदल भएसंगै गठबन्धनलाई समर्थन गर्ने नगर्ने बिषयलाइ लिएर सुरु भएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनकी श्रीमती रंजिता श्रेष्ठबिच भएको बिवाद पछिल्लो समय सतहमा छताछुल्ल भएको छ। चौधरी र रेशमको घरझगडाले हद पार गरेपछि त्यसको असर सिंगो पार्टी पंतिमा देखिएको छ।
उनीहरुको पक्ष विपक्षको बिच बैठकमै हात हालाहाल भएपछि रंजिताले आफ्नो घरको रिस पार्टीका नेता कार्यकर्ताहरुमा पोख्न थालेकी छिन् (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेपछि यो सबै सतहमा छताछुल्ल भएको हो ।
संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरूङलाई जिम्मेवारीबाट पदमुक्त गरेको बताएकी छन्।
‘नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा चैत १९ गतेका दिन पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा तपाईंसमेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारू र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरी कुटपिटसमेत गरेको हुदाँ पार्टीको विधान २०७८ को धारा १७ को उपधारा (क को (२) (४) बमोजिम र सोही विधानको धारा १७ (४) बमोजिम तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीबाट पदमुक्त गरी निष्काशन गरिएको जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ। दुवै अध्यक्षलाई एकै व्यहोरोको पत्रमार्फत् निष्कासन गरिएको जानकारी गराइएको छ।
संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबीच कुटाकुट भएको थियो। केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूसहित चारजना नेताविरूद्ध ज्यान मार्ने धम्की आएको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए।