इक्यान केन्द्रले बिपिपी युनिभर्सिटी बोक्दा चितवनमा भूकम्प

मंगलबार, २० चैत्र २०८०

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बेलायतको बिपिपि युनिभर्सिटीलाई बोकेर देशभर युनिभर्सिटी प्रमोशनमा जुटेपछि चितवन शाखामा विवाद देखिएको छ । तालिम तथा प्रशिक्षण विभाग प्रमुखलाई जानकारी नै नदिई इक्यान केन्द्रले विचौलियालाई लिएर युके अध्ययनसम्बन्धी तालिम राखेपछि चितवन शाखामा विवाद उत्पन्न भएको हो ।

शाखाका तालिम प्रशिक्षण विभाग प्रमुख सन्तोष लोहनीले आफूलाई जानकारी विना तालिम आयोजना गरेर इक्यानमा काम गर्ने बातावरणको अन्त्य गरेको भन्दै कार्यसमिति सदस्य पदबाट राजीनामा दिएका छन् । लोहनीले इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा उनले विभिन्न ९ वटा आरोप लगाउँदै सुझाव समेत दिएका छन् ।

उनले इक्यान चितवनले आफूलाई बाइपास गरेर राजनीति गर्ने थलो बनाएको भन्दै यसबाट मुक्त हुनका लागि आफूले राजीनामा दिएको बताए । साथै, इक्यान शाखा आफैले गर्नसक्ने काममा केन्द्र बोलाएर हस्तक्षप गरेको, त्यसमा पनि विचौलियालाई इक्यानले बोकेर हिडेकोमा विरोध गर्दै आएका थिए ।

लोहनीले विचौलीया छिराएर गर्ने कार्यहरुको विरोध गर्दै आएका थिए । यो तालिममा युकेको बिपिपी युनिभर्सिटीले आर्थिक सहयोग गरेको थियो भने विचौलियाको रुपमा एउटा इभेन्ट म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गरेको थियो । बिपिपि युनिभर्सिटीलाई नेपालमा नक्कली अफरलेटरनक्कली शैक्षिक कर्जा बनाएर विद्यार्थी ठग्दै आएको फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले प्रमोशन गर्दै आइरहेको छ ।

विद्यार्थी ठगेर आएको पैसाले इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत इक्यान किन्न खोजेको भन्दै चर्को विरोध भइरहेको छ । इक्यानले एउटामात्र विश्वविद्यालय बोकेर एकलौटी प्रमोशन स्थान दिदा अरु विश्वविद्यालय तथा कलेजहरु इक्यानसँग टाढिएका छन् ।

इक्यान चितवनले लोहनीको राजीनामाको विषयमा छलफल भइरहेको बताएको छ । चितवन शाखाका अध्यक्ष दीपकचन्द्र भट्टराईले लोहनीको राजीनामाको विषयमा छलफल भइरहेको बताए । श्रोतले दिएको जानकारी अनुसार लोहनीले काममा खासै सक्रियता नदेखाएकाले विकल्प लिएर काम गर्दा समस्या उत्पन्न भएको हो ।

यता इक्यान अध्यक्ष शेषराज भट्टराईले इक्यान र विपिपि युनिभर्सिटीबिच कुनै साइनो नभएको बताए । मोटिभेट न्यूजसँगको भेटमा भट्टराईले विपिपि विश्वविद्यालयका प्रतिनिधिसँग आफ्नो व्यक्तिगत र संस्थागत सम्बन्ध नभएको बताए । ‘हाम्रो एउटै उद्येश्य इक्यानका सदस्यलाई योग्य बनाउने हो, क्षमतावान बनाउने हो ।’, उनले भने, ‘हाम्रो यो उद्येश्यमा वानअपले सहयोग गछौं भन्यो । इक्यान कसले कति खायो भनेर पिलेट गनेर बस्ने संस्था त होइन । त्यही भएर आर्थिक कामको जिम्मा पनि वानअपलाई दियौं । वानअपले कसको स्पन्सर लियो, त्यो हाम्रो सरोकारको विषय हुने भएन ।’

उनले यस विषयमा आफू थप छलफल गर्ने मुडमा रहेको बताए । ‘विपिपि भुनिभर्सिटी, फ्रयाङ्कलिन वा दीपक खड्काको बारेमा केही पनि जानकारी थिएन् ।’, उनले भने, ‘अब म यो विषयमा उहाँहरुसँग थप छलफल गर्छु ।’ मोटिभेट न्यूज डटकमले फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सी बनाएका नक्कली अफर लेटर, नक्कली शैक्षिक कर्जा र बेलायतबाट गरिरहेको हुण्डि कारोबारको विषयमा निरन्तर समाचार लेखिरहेको छ । यो काण्डसँगै इक्यान चितवनको निर्वतमान कार्यसमितिले गरेको भ्रष्टचारका विषयहरु पनि छाताछुल्ल भएका छन् ।

हेर्नुहोस् राजीनामा पत्र

शैक्षिक कर्जा मिलाइदिने भन्दै विद्यार्थीसँग लाखौं रकम असुल्दै फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सी

नक्कली अफरलेटर बनाउँछ काठमाडौंको फ्र्याङ्कलिन एजुकेशनल कन्सल्टेन्सी