सडक, सदन र सरकारको तालमेल मिलेको छ, अब नेपालमा समाजवाद आउँछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सडक, सदन र सरकारको तालमेल राम्रोसँग मिलेको बताएका छन् । मङ्गलबार समाजवादी मोर्चा, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषेयक अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले सडक, सदन र सरकारको तालमेल मिलेकाले नेपालमा छिट्टै समाजवाद आउने बताएका हुन् ।
उनले समाजवाद ल्याउन सडक, सदन र सरकार यी तिनै चिजको अनकुल हुनुपर्ने र अन्य आधारसमेत तयार भएपछि समाजवाद आउने बताए । उनले भने, ‘समाजवादको लागि आधार तयार पार्न सुशासन, सामाजिक न्याय र समृद्धि यी तीन चिज र त्यसलाई स्थापित गर्न सबै मोर्चाबाट दवाब सिर्जना गर्नुपर्छ । मैले सरकारको तर्फबाट त्यो भुमिका निभाइरहेको छु । तपाईंहरु अन्य मोर्चाका घटकहरुले पनि त्यही अनुसार अघि बड्नुस् ।’
प्रचण्डले मोर्चामा सहभागी ४ दलहरु मध्य ३ पार्टी सदन र सरकारमा रहेको र विप्लव सीले नेतृत्व गरेको नेकपाले सडकको नेतृत्व गरिरहेकाले समाजवादका लागि अनुकुल वातावरण बन्दै गएका जिकिर गरे । ‘नेकपाले सडकको नेतृत्व गरिरहेको छ, हामी सरकार र सदनमा छौं ।’, उनले भने, ‘यसबाट सडकको खवरदारीले हामीलाई सरकार र सदनमा मात्र लिप्त भैराख्न छुट दिदैन । त्यसो भएपछि नेपाली विशेषताको समाजवाद प्रप्तिको आन्दोलन धोकामा टुङ्गिदैन।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले काङ्ग्रेससँगको गठबन्धन तोडेर नयाँ समिकरणमा जानु पनि यही अभियानको आधार तयार पार्नु भएको दाबी गरे । ‘पूर्व गठबन्धनको साथ लिएर जादा त्यो सम्भव नभएर गठबन्धन त्यागें । नयाँ समिकरण बनाए ।’, उनले भने, ‘अहिलेको मेरो कदम पदको लागि हुँदै होइन । समजवादको आधार तयार पार्न यो कदम चालेको हो । यसबाट जनता सन्तुष्ट छन् । केही पश्चगामीहरु बाहेक अरुलाई उत्साह नै छ।’
नेपालमा अहिले समाजवादका लागि अनकुल परिस्थितिको निर्माण भएको बताउदै उनले नेपालका सबै देशभक्त वामपन्थी समाजवादीहरु एकैठाउँमा उभिन सके समाजवाद सम्भव भएको जिकिर समेत गरे । उनले थपे, ‘समाजवाद जनताले जन्माउने हो । समाजवाद सडकबाट जन्मिन्छ । जनता सडकमा हुन्छन्, सरकार सदन र सडकको तालमेल मिलेको छ अब नेपालमा समाजवाद आउँछ।’