आफ्नै श्रीमतीको सहकारीमा महानगरले छापा हानेपछि रातोपिरो हुँदै बालेनसँग रविले मागे गुहार
काठमाडौँ – रवि पत्नी निकिता पौडेल सहकारी काण्डमा मुछिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरेका छन् । उनले बुधबार दिउँसो २ बजेदेखि झण्डै ३ बजेसम्म मन्त्रीको कार्यकक्षमै बोलाएर साहसँग भेट गरेका हुन्
बुधबार अपरान्ह पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा महानगरले छापा मारेको छ । यसअघि नेपाल प्रहरीको सिआइबीबाट उन्मुक्ति दिलाए पनि उक्त सहकारीमा हिजो महानगरको सहकारी शाखाले छापा मारेर सहकारीका सफ्टवेयर र ऋणीहरूको सूची नियन्त्रणमा लिएको छ ।
गृहमन्त्री रवि लामिछाने पत्नी निकिता उपाध्यक्ष रहेको उक्त सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको र अपचलन गरेको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसको जानकारी महानगरसँग मागेको र महानगरले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
उपाध्यक्ष निकिता जमानी बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख रुपैयाँ ऋण दिएको कागजात पनि फेला परेको छ । सोही कारण श्रीमती र आफू अप्ठेरोमा पर्ने भएपछि काठमाडौंका मेयरसँग गृहमन्त्री रवि लामिछानेले हिजो मन्त्रालयमा एकाएक भेट गरेको बुझिन्छ । भेटमा अप्रत्यक्ष भाषामा हारगुहार गरिएको स्रोतको दाबी छ ।