J-cert को ‘जापानीज भाषा प्रशिक्षक’ तालिम सम्पन्न
काठमाडौं – विदेशीका लागि जापानीज भाषा प्रमाणपत्र (जे-सर्ट)ले नेपालका मुख्य सहरहरुमा जापानीज भाषा प्रशिक्षक तालिम सम्पन्न गरेको छ । नेपालमा जे-सर्ट परीक्षा सञ्चालन गरिरहेको इन्टरनेशनल टेस्ट सेन्टर (आईटिसी) र होन्स कम्पनीको सहकार्यमा यही चैत १३ गतेदेखि २० सम्म सञ्चालन गरिएको जापानीज भाषा प्रशिक्षक तालिम सम्पन्न भएको हो ।
जापानीज भाषा पढाउँदै आएका शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम आयोजना गरिएको जे-सर्टले जनाएको छ । जापानीज भाषाकी ख्यातिप्राप्त प्रशिक्षक कुमी टानाकाले जापानबाटै नेपाल आएर प्रशिक्षण दिएकी थिइन् । जापानीज भाषा प्रशिक्षक तालिम विर्तामोड, इटहरी, चितवन, पोखरा र काठमाडौं सञ्चालन गरिएको जे-सर्ट परीक्षा प्रमुख निश्चित शाहीले जानकारी दिए । उनका अनुसार भाषा प्रशिक्षकहरुको क्षमता र दक्षता विकास गर्ने उद्येश्यले तालिम सञ्चालन गरिएको हो ।
व्यवसायीक दक्षता विकास गर्न शिक्षण विधि महत्वपूर्ण हुने भएकाले आगामी दिनमा पनि भाषा शिक्षक तालिमलाई निरन्तरता दिइने उनको भनाई छ । जे-सर्टले सन् २०१७ मे देखि नेपालबाट जापान जान चाहने विद्यार्थीहरुलाई जापानीज भाषा परीक्षा लिंदै आएको छ । लामो समयदेखि जापानमा अध्ययनको लागि विद्यार्थी पठाउने गरिए पनि उनीहरुले सिकेको भाषा कुन तहसम्म छ भनेर जाच्नको लागि अहिले जस्तो प्रत्येक महिनाजसो परीक्षा लिने संस्थाहरु पहिले नभएको शाहीको भनाई छ ।
‘विद्यार्थी, अभिभावक, शिक्षक एवं शुभेच्छुकहरुको निरन्तर साथ सहयोग र हौसलाले जे-सर्टले आजको दिनसम्म आईपुगेको छ’, शाहीले भने, ‘सुरुवाती दिनहरुमा केहि जटिलता खेप्नु परेपनि हाल संचालन भैरहेका परीक्षाहरुको तुलनामा जे-सर्टले आवेदन प्रक्रियादेखि परीक्षाको नतिजा प्रकाशनमा सबैभन्दा छिटो सेवा दिइरहेको छ ।’ जे-सर्टले हाल दिइरहेको सेवालाई थप छिटोछरितो र प्रभावकारी बनाउन अझ गृहकार्य गरिरहेको शाहीले बताए ।
‘नेपालबाट जापानमा विद्यार्थी लगायत अन्य भिषामा पठाउने कार्य बिगत लामो समयदेखि हुदै आएको भएपनि नेपाली विद्यार्थीहरुले आफुले सिकेको भाषा कुन तहसम्म छ भनेर जाच्नको लागि सिमित JAPANESE TEST हरुको सिण्डिकेट रहेको थियो भन्ने कुरा हजुर हामीसामु जगजायर नै छ।’, उनले भने, ‘यिनै कुराहरुलाई मध्यनजर गर्दै क्रमिक रुपमा विस्तारै नेपालमा जापानिज भाषाका परीक्षा लिने सस्थाहरुको स्थापना हुदै आयो र यसको फलस्वरुप नेपालमा २०१७ को मेबाट GNK TEST हालको j-cert test नेपालमा संचालन भई निरन्तर सेवा दिदै आईरहेको कुरा यहाहरुलाई अवगत गराउन चाहन्छौं।’