महिलाको उद्धार गर्ने संस्थाले नै बेच्यो ५ किशोरी
बुटवल – नेपाली महिलाको उद्धार गर्न भनेर खुलेको संस्थामा कार्यरत कर्मचारीको योजना ५ जना किशोरी भारतमा बेचिएका छन् । भारतमा बेचिने चेलीहरुको उद्दार गर्न नेपाल–भारतको सीमा क्षेत्रमा बसेका संस्थाकै कर्मचारीहरुको योजनामा नेपालका ५ किशोरी भारतमा बेचिएका हुन् । काम लगाइदिने प्रलोभन दिएर भारतको विहार पुर्याइएका पाँच जना किशोरीलाई उद्धार गरिएपनि प्रशासनले सीमा क्षेत्रमै बसेका संस्थाका कर्मचारीको योजनामै उनीहरु भारत पुगेको रहस्य फेला पारेको हो ।
यसरी बेचिएका ती किशोरीहरुले नेपालकै बोर्डरमा भारतीय प्रहरीले रोकेर फर्काउँदा पनि नेपालतर्फ बसेका ती संस्थाका कर्मचारीले चोर बाटोबाट आफूलाई भारत जान सघाएको बताए । तर प्रशासनले त्यो संस्थाबारे थप अनुसन्धान गर्नका लागि तत्काल त्यसको नाम गोप्य राखिएको जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्दार भएका किशोरीको भनाइमा ती संस्थाकै कर्मचारीको भूमिका प्रष्ट देखिएको बताए । उनले यो क्षेत्रमा काम गर्ने सबै संस्थाका कागजपत्र मगाएर तत्काल अनुसन्धान गर्न निर्देशन दिइसकेको बताए । आइतबार उद्दार भएका ५ किशोरी १५ देखि १८ वर्षका रहेका छन् । रुपन्देहीको सांस्कृतिक नगरपालिकाकी १८ वर्षीय मुस्लिम समुदायकी ती किशोरीले रुपन्देहीको कक्रहवा नाकामा रहेका संस्थाका कर्मचारीको सहयोगमा आफू भारत गएको र उता गएपछि मात्रै आफूलाई गलत ठाउँमा पुराइएको महशुस भएको बताइन् ।
उद्धार गरी रुपन्देही ल्याइएका पाँचैजना युवतीलाई अहिले जिल्ला प्रहरी कार्यालयको संरक्षणमा राखिएको र परिवारलाई सम्पर्क गरी जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । प्रमुख जिल्ला अधिकारी अर्यालले प्रहरी प्रशासनले भारतीय सुरक्षाकर्मीसंगको समन्वयमा सीमा समन्वय समितिमार्फत सीमा अपराध तथा मानव बेचविखन विरुद्धका विभिन्न कार्यक्रम भइरहेपनि व्यक्ति स्वयं सचेत नबन्दा यस्ता घटना नरोकिएको बताए । केआईएन भारतका नेपाल संयोजक इन्द्रराज भट्टराईले पछिल्लो समय मानव बेचविखनको प्रकृति फेरिएको उल्लेख गर्दै कतिपय नेपाली चेलीहरुलाई भारत हुँदै श्रीलंका,ओमनलगायतका देशमा पठाउँछु भनेर समेत बेचविखनमा पार्ने गरेको बताए । ‘मायाप्रेम र जागिरको प्रलोभनबाट भारत पुराउने र बेचिने गरेको प्रमाण हामीले पाएका छौं, अहिले विभिन्न प्रविधिको प्रयोगबाट पनि यस्ता अपराधिक काम भइरहेका छन्’ उनले भने ।
‘दिल्लीको ५५, ५९ र ६३ नम्बरको नाम चलेको कोठीमा नेपाली चेलीलाई लगेर गलत काममा प्रयोग गरिन्छ भनेर हामीले प्रमाणिक रुपमा सार्वजनिक गरेका छौं, तर त्यो रोक्नसक्ने क्षमता हामीसँग भएन’ भट्टराईले भने–‘वर्षमा करिब २ सय महिला उद्दार भएको अवस्था छ, अहिले सिधै कोठीमा लैजाने तरिका फेरिएर अनेक योजना बनाएर दलालीहरुले फसाइरहेको अवस्था छ, अभिभावक र सरोकारवाला सबै सचेत हुन जरुरी छ ।’