आज पनि चट्याङ पर्न सक्ने, साबधानी अपनाउन मौसमविद्को अपिल

आइतबार, ८ बैशाख २०७६

बैशाख ८ काठमाडौं– केही दिनदेखि विभिन्न जिल्लामा चट्याङ लागेर मानिसहरु घाइते भएका तथा कतिपयले ज्यान समेत गुमाएका खबरहरु सार्वजनिक भइरहेका छन् ।
मौसमविदले आइतबार पनि चट्याङ पर्न सक्ने भएकोले साबधानी अपनाउन अपिल गरेका छन् ।

देशभर आइतबारको मौसम दिनभरी नै बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मौसमविद गंगा नगरकोटीका अनुसार चट्याङ पर्दा यसबाट बच्न ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् ।

सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने

घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन लगायतका विद्युतिय उपकरण नचलाउने, बन्द गर्ने

पानीका धाराहरु बन्द गर्ने, झ्याल तथा भित्तामा अडेस नलगाउने

अग्लो ठाउँमा नजाने

खुला चौरमा भएमा घोप्टो परेर बस्ने

रुखको नजिक तथा विद्युतका पोल नजिक नजाने

कार तथा गाडीभित्र भएमा झ्याल ढोका बन्द गरेर भित्रै बस्ने

फलाम तथा तामा मेटलका करेन्ट प्रवाह हुने सक्ने सामाग्रीहरु नछुने